सार्दीखोलामा २५ मेगावाटको जलविद्युत् आयोजना: परीक्षण उत्पादन सुरु हुँदै
पाेखरा | साउन २९, २०८१
कास्की: पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।
“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।
‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ ।
सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।
यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो ।
सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।
कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

